देवचुली,
देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा जलाधार क्षेत्रमा नागरिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार देवचुली नगरपालिका वडा नं ६ किर्तीपुरमा जलाधार क्षेत्रका उपभोक्ता नागरिकहरुलाई सचेतना कार्यक्रम गरिएको हो । “सुरक्षित र पर्याप्त पानीको पहुँच, घरघरमा धाराः व्यवस्थित र समृद्ध आयोजना, हाम्रो अभिभारा” भन्ने नाराका साथ प्रगतिनगर खानेपानी संस्थाले उपभोक्ताहरुलाई स्वच्छ र शुद्ध पानी वितरण गर्दै आइरहेको छ ।
कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षता रहेको थियो भने देवचुली वडा नं ६ का वडाध्यक्ष मिन बहादुर सोतीको प्रमुख आतिथ्तयता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएको सोतीले प्रगतिनगर खानेपानी संस्थाले चालेको यस कदमले सम्पूर्ण देवचुली नगरपालिकाका नागरिकहरुलाई फाईदा हुने बताउनुभएको थियो । यसरी जलाधार क्षेत्रका उपभोक्ता नागरिकहरुलाई राखेर कार्यक्रम गदैगर्दा किर्तीपुरका नागरिकहरु पनि सचेत हुने बताउनुभएको थियो ।
देवचुली ६ किर्तीपुर खानेपानीको जलाधार क्षेत्र भएकाले त्यहाँको पानी बगेर मुलमुहानमा आउने र त्यही पानीलाई फिल्टर गरि पिउने भएकाले पनि त्यस क्षेत्रका नागरिकहरुलाई सचेत गराउन आवश्यक रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।
उहाँले जलाधार क्षेत्रमा विषाधीको प्रयोग नहोस, खुल्ला दिसा नगर्ने, फोहोरलाई नियन्त्रण गर्ने जस्ता विभिन्न विषयमा उपभोक्ता र नागरिकलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो । सुरक्षा समिति र प्रगतिनगर खानेपानी संस्थाको समूह मिलेर जलाधार क्षेत्रको सचेतना सँगै कोभिड–१९ सम्बन्धी कार्यक्रम समेत संचालन गरिएको थियो ।