कञ्चनपुरको पुनर्वास नगरपालिका- ४ का २२ वर्षीय युवक रमेश दमाईकाे भारतीय सिमावर्ती बजार सम्पुर्णानगरमा मृत्यु भएको छ । त्यहाँ एक होटेलमा काम गर्दै आएका दमाईलाई पखाला लागेपछि बुधबार बेलुकी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘मृतक दमाई भारतीय बजार सम्पुर्णानगरमा रोजगारीका सिलसिलामा गएका थिए,’ पारिवारिक श्रोतले भन्याे, ‘केही समय अघि भारतीय बजार खजुरीयामा काम गर्दै आएका उनी काेभिड्- १९ का कारण घर आएका थिए । तत्पश्चात पुनः भाद्र ३० मा घर छाेडेर गएका थिए ।’
तीन दाजुभाइ मध्ये कान्छो छाेराका रुपमा रहेका दमाईले सामान्य मानसिक सन्तुलन गुमाएका थिए । मानसिक सन्तुलन गुमाएका दमाई वेपत्ता भएको भनी असाेज ३ मा परिवारले खोजीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी दिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार उजुरी परेको केहि समयपछि भारतीय सिमावर्ति बजार सम्पुर्णानगरकाे एक होटलमा काम गरिरहेको भन्ने खबर मृतकके परिवारले प्रहरीलाई खबर समेत गरेका थिए ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भने प्रहरी अनुसन्धानका अधारमा मृतक दमाई केहि दिनदेखि पखालाबाट ग्रसित थिए । पखालाकाे बिरामी परेका मृतक दमाईलाई उनकै आमा र दिदीले सामान्य उपचार गराउने क्रममा मृत्यु भएको परिवार स्रोतलाई उदृतगर्दै निरीक्षक बिष्टले बताए ।
उक्त घटनाबारे सामाजिक सञ्जालमा दमाईकाे भारतमा रहस्यमय मृत्यु भन्ने खबर भ्रामक रहेको प्रहरी निरीक्षक बिष्टले जिकिर गरे । उनले सत्य तथ्य खबर सम्प्रेषणका लागि समेत सबैमा अनुरोध गरेका छन् ।
यता मृतक दमाईकाे शव परिवारले नेपाल ल्याएका छन् भने केहीबेरमा शवकाे दाहसंस्कार गरिने प्रहरीले जनाएको छ ।