अस्पतालमा अक्सिजन पुर्याउन सिलिन्डर अभाव
१४ बैशाख, काठमाण्डौ । कोरोना भाइरस संक्रमणले भारतमा भयावह अवस्था भए पछि अक्सिजनको अभाव भएर धेरै सङ्क्रमितले ज्यान गुमाउनु पर्ने अवस्था छ । तर नेपालमा कोरोना भाइरसको सङ्क्रमण जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारले दाबी गरेको छ ।
नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन । देशभरका अस्पतालसम्म पुर्याउन सिलिन्डरको अभाव हुने देखिएको छ । सरकारले नेपाल भित्रका उद्योगीहरुसँग नियमित छलफल गरिरहेको र अक्सिजन प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमले आग्रह गरे ।
नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमल्सिना अनुसार सिलिन्डर पर्याप्त भए दैनिक ३० हजारभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिन्छ । त्यस्तै उद्योगीहरुले सरकारलाई तत्काल बढीमा बढी सिलेन्डर आयात गर्न सुझाव दिएका छन । नेपालमा अहिले विभिन्न ठाउँमा २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।
५ ठूला उद्योग सँग झण्डै १२ हजार र अरु उद्योगसँग २ हजारका दरले अक्सिजन सिलिन्डर छन् । देशभर ९० हजार सिलिन्डर रहेको अनुमान गरिए पनि यसको निश्चित लेखाजोखा भने भएको छैन ।