संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा सभामुखबाहेक सबै सदस्य उपस्थित भएका छन्। उपसभामुख रिक्त रहेकाले कोरम पुर्याउन पनि सबै सदस्यको उपस्थिति अनिवार्य छ ।
नेकपा विवादको प्रभाव परिषदमा पनि परेको हो। सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट हुन्।
बैठकका लागि सरकारबाट समन्वय, पूर्वतयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख नगएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।
सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ।
संवैधानिक परिषद बैठकमा सभामुख नजानुको कारण भने नेकपाभित्रको आन्तरिक विवाद रहेको स्रोतहरू बताउँछन्।
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक टकराव नटुंगिएसम्म संवैधानिक परिषदको बैठकको अनिश्चितता कायमै रहने बताइन्छ।
पार्टीमा जारी विवादकाबीच संवैधानिक परिषद बैठक बोलाइएकोमा दाहाल प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको उनीनिकट स्रोतले बताएका छन्।
हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत प्रचण्डको भनाइ छ।
‘पार्टीको बैठकलाई छलेर यता (संवैधानिक परिषदतिर) लागिएको छ। यसले नेकपामा थप अन्तरविरोध चर्किने निश्चित छ,’ दाहालनिकट अर्का एक नेताले भने, ‘विपक्षी दलले मागे अनुसार नै संवैधानिक परिषदमा भाग दिन लागिएको छ। पार्टीको छलफललाई बेवास्ता गरिएको छ। ओलीबाटै फुटको वातावरण सिर्जना भइरहेको छ।’
पार्टीको बैठकलाई छलेर यता (संवैधानिक परिषदतिर) लागिएको छ। यसले नेकपामा थप अन्तरविरोध चर्किने निश्चित छ' प्रचण्ड निकट अर्का एक नेताले भने, 'विपक्षी दलले मागे अनुसार नै संवैधानिक परिषदमा भाग दिन लागिएको छ। पार्टीको छलफललाई बेवास्ता गरिएको छ। ओलीबाटै फुटको वातावरण सिर्जना भइरहेको छ।'
दुई दिनअघिको बैठक स्थगित गर्दै प्रधानमन्त्रीले पुनः मंगलबार बिहान बैठक बोलाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भए।
बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित विभिन्न आयोगमा ४५ पद रिक्त छन्।